काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले नै योग अभ्यासलाई स्थापित गरेको बताएका छन् । यसलाई जीवनको अभिन्न अङ्ग तथा वैज्ञानिक अभ्यासको रूपमा अनुसरण गर्न सके व्यक्तिको स्वच्छता एवम् समाजको प्रगति हुने विश्वास व्यक्त गरे ।नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक दिवसीय 'योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रम'लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
व्यक्ति र समाजले योग अभ्यास र ध्यानको महत्वलाई आत्मसात् गर्दा शारीरिक एवम् मानसिक स्वच्छता, जागरण, सन्तुलन र रूपान्तरण प्रक्रियामा समेत योगदान पुग्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।आफूले योग र ध्यानलाई सरकारको नीत कार्यक्रममा नै समेटेर संस्थागत गर्न पहल गरेको चर्चा गर्दै गृह मन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी,अन्य प्रशासनिक क्षेत्र एवम् कारागारमा समेत योग शिविरहरू सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले पतञ्जलि योग समिति, नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह-केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसा पत्र प्रदान गरे । प्रभारी मिश्रले प्रमुख अतिथि श्रेष्ठसहित उपस्थित सबैलाई योगाभ्यास समेत गराएका थिए ।
कार्यक्रममा धन्यवाद मन्तव्य दिँदै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकैदिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नभए पनि योगको महत्त्व र योगाभ्यासका बारेमा शिविरले महत्त्वपूर्ण जानकारी दिएको बताए । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठ र महानिरीक्षक कुँवरलाई पतञ्जलि योग समिति, नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले कृतज्ञताको चिनो प्रदान गरेका थिए । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाइन्छ ।

