
व्यक्ति र समाजले योग अभ्यास र ध्यानको महत्वलाई आत्मसात् गर्दा शारीरिक एवम् मानसिक स्वच्छता, जागरण, सन्तुलन र रूपान्तरण प्रक्रियामा समेत योगदान पुग्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।आफूले योग र ध्यानलाई सरकारको नीत कार्यक्रममा नै समेटेर संस्थागत गर्न पहल गरेको चर्चा गर्दै गृह मन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी,अन्य प्रशासनिक क्षेत्र एवम् कारागारमा समेत योग शिविरहरू सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले पतञ्जलि योग समिति, नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह-केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसा पत्र प्रदान गरे । प्रभारी मिश्रले प्रमुख अतिथि श्रेष्ठसहित उपस्थित सबैलाई योगाभ्यास समेत गराएका थिए ।
कार्यक्रममा धन्यवाद मन्तव्य दिँदै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकैदिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नभए पनि योगको महत्त्व र योगाभ्यासका बारेमा शिविरले महत्त्वपूर्ण जानकारी दिएको बताए । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठ र महानिरीक्षक कुँवरलाई पतञ्जलि योग समिति, नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले कृतज्ञताको चिनो प्रदान गरेका थिए । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाइन्छ ।