काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सबै धार्मिक संघ, संस्थाहरूलाई अपिल गरेका छन् । व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरूले पनि पहल गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उनले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरे ।
शुक्रवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिहरूलाई बोलाएर उनले मुलुकमा नियोजित रूपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिए । एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

