काठमाडौँ । पत्रकार आचारसंहिताको उल्लंघन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक÷प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र विश्वसनीय ढङ्गले पत्रकारिता गर्दै जनताप्रति जिम्मेवार हुन आफूहरू केन्द्रित हुने प्रेस काउन्सिल नेपालसमक्ष उनीहरुले दृढता राखेका छन् ।काउन्सिलद्वारा मङ्गलबार राखिएको ३१ औँ पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षापछि उनीहरूले यस्तो प्रतिबद्धता र दृढता जनाएका हुन् ।
अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमित अभिमुखीकरणसहित अनुगमन गर्दै आएको छ । अभिमुखीकरण कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नयाँ सञ्चार माध्यम सञ्चालनमा आउनु मात्र ठूलो कुरा नभएको भन्दै जनमानसको विश्वास जित्न नसके सिङ्गो पेसा नै सङ्कटमा पर्नेतर्फ सचेत हुनुपर्ने बताए ।
अध्यक्ष बस्नेतले भने ‘हामीले नयाँ मिडिया दर्ता ग¥यौँ । अब जसरी अघि बढे पनि हुन्छ भन्ने नसोच्नुहोला । जिम्मेवारी झन् बढेको छ, आजैबाट जनताको मन जित्ने, विश्वास जित्ने गरी समाचार लेख्न सक्नुपर्छ । होइन भने दुखका दिन सुरु हुन्छन् ।
पत्रकारिताका आधारभूत मूल्य, मान्यता र आचारसंहिताको बन्धनभित्र रही पत्रकारिता गरे सफल भइ पेसा पनि मर्यादित हुने अध्यक्ष बस्नेतले बताए । विषयविज्ञ नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार आचारसंहिता २०७३, (पहिलो शंसोधन, २०७६)मा भएका व्यवस्थाबारे प्रशिक्षण दिएका थिए । महासंघका अध्यक्षसमेत रहेका पोखरेलले पत्रकारले गर्न नहुने १४ बुँदाबारे स्पष्ट पारेका थिए । कार्यक्रममा अध्यक्ष पोखरेलले पत्रकारले समाजमा आफैँ जन्मिरहेका समाचारलाई पत्रकारिताको मूल्य मान्यतामा रही सम्प्रेषण गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए । ‘जबरजस्ती समाचार बनाउन र आफूलाई न्यायाधीशको रूपमा प्रस्तुत गर्नु हुँदैन’ अध्यक्ष पोखरेलले भने ।

