काठमाडौँ । संसदीय समितिहरुले कानुन निर्माणको काममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।मिनी संसद्’को रुपमा रहेका संसदीय समितिहरुले कानुन निर्माणको लागि सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरुले समितिहरुले विधेयकहरुमाथि पर्याप्त छलफल गर्न नसकेको बताएका छन् । संसद्को अधिवेशन अन्त्य भएको यो बेलामा पनि अधिकांश समितिहरुको बैठक बस्न नसकेको भन्दै सांसदहरुले समितिको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् । हाल प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु रहेका छन् । त्यस्तै राष्ट्रिय सभाअन्तर्गत ४ वटा विषयगत समितिहरु छन् भने २ वटा संयुक्त समिति रहेका छन् । तर केही समितिहरु बाहेक अधिकांश समितिले संसद्को अधिवेशन अन्त्य भएपछि बैठक समेत राखेका छैनन् ।
सांसदहरुको गणपूरक संख्या नपुगेका कारण कतिपय समितिको बैठक पटक–पटक स्थगित हुने गरेको छ । बैठक बसेका समितिले पनि कुनै महत्वको र ठोस विषयमा छलफल गरी निष्कर्ष निकाल्न सकेको अवस्था छैन ।न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समिति बैठकमा गणपूरक संख्या पु¥याउन नै गाह्रो भइरहेको बताए । विधेयक निर्माणमा सांसदहरुको ध्यान जान नसकेको उनले बताए । बैठक बोलाउँदा पनि गणपूरक संख्या नपुगेको भन्दै उनले चाडपर्वमा गाउँघर गएका सांसदहरु अझै काठमाडौँ नफर्किएका कारण यस्तो समस्या आएको बताए । उनले संसद्को दोस्रो अधिवेशन समेत प्रभावकारी हुन नसकेको टिप्पणी गरे ।

