काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केही जिल्लामा रहेको पार्टीको विवाद मिलाउन दौडधुप थालेका छन् । सप्तरी र पर्सामा पार्टीका असन्तुष्ट पक्षले समानान्तर कमिटी बनाए पछि अध्यक्ष यादवको दौडधुप बढेको हो । उनी सो विवाद मिलाउनका लागि कहिले सप्तरी त कहिले पर्सा पुगे पनि हालसम्म समाधान हुन सकेको छैन । पुस ७ गते अध्यक्ष यादव त्यहाँको विवाद मिलाउनका लागि सप्तरी पुगेका थिए । त्यो दिन उनले दुवै पक्षको कुरा सुनेका थिए । दुवै पक्ष आ–आफ्नै अडानमा रहे पछि उनी त्यसै काठमाडौँ फर्केका थिए ।
उनी आज फेरि त्यही विवाद समाधानका लागि सप्तरी जाँदै छन् । सप्तरीका एक नेताले भने, ‘अस्ति अध्यक्षजी आएर दुवै पक्षको कुरा सुनेर जानु भएको थियो आज फेरि आउँदै हुनुहुन्छ, आज–भोलीसम्ममा विवाद मिलाउनु हुन्छ कि हामीले विश्वास लिएका छौँ ।केदार यादव अध्यक्ष रहेको जिल्ला कमिटीको विरुद्धमा उमेश यादवको अध्यक्षतामा अर्को कमिटी गठन भएको थियो । त्यो समानान्तर कमिटी बनाउनमा कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहको पनि सहयोग थियो ।

