हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले वर्तमान समयमा नेताहरुले राजनीतिका लागि राजनीति गरिरहेको बताएका छन् । आइतबार विपी विचार समाज मकवानपुरको आयोजना हेटौंडामा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका डा.भण्डारीले नेताहरुले राष्ट्रनीति गर्नुपर्ने बताए ।नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा ‘युवा जनशक्तिको सुनिश्चित भविष्यको लागि राजनीतिक दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै डा.भण्डारीले समाजको आवश्यकता अनुसारको विकास र सुशासन नेताहरुले दिन नसकेको उनले बताए । विपीको नेतृत्वको पालामा जस्तो नेताहरुमा नैतिकता नरहेको बताए । उनले ४ आना जग्गाको लागि र्याल काड्ने प्रवृत्तिका कारण देशको अवस्था कमजोर बन्दै गएको बताए ।
राजनीतिका लागि मात्र राजनीति भइरहेको छ । नेताहरुले राजनीति छाडेर राष्ट्रनीति गर्नुपर्छ । अहिलेको नेताहरुलाई समाजले के खोजिरहेको छ भन्ने बारेमा थाहा नै छैन’ उनले भने, ‘विपीका समयमा नेताहरुमा अहिलेको जस्तो साँघुरो सोच थिएन । त्यस समयमा आफूसँग भएका स्रोतहरु देशका लागि खर्च गर्ने नेताहरु थिए । अहिलेको ४ आना जग्गाको लागि ¥याल काड्ने नेता त्यस समयमा थिएनन् । स्वार्थ र लोभका कारण देशको अवस्था कमजोर बनेको हो ।’
राजनीतिक दलका नेताहरुले पुरानो ढर्रा त्याग्नुपर्ने उनको भनाई छ । पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुँडी छाडेर देश विकासको गतिमा अघि बढाउन र युवाहरुलाई आशा जगाउने कामहरु गर्नुपर्नेमा उनले जोड दिए । अहिले राजनीतिक दलका नेताहरु अपडेट हुन जरुरी रहेको समेत भण्डारीले बताए ।
समय र प्रविधिअनुसार सरकार र नेतृत्वकर्ताले काम गर्न नसक्दा युवाहरुमा चरम निराशा पैदा भएको उनले औल्याए । नेतृत्वको कमजोरीका कारण राजनीतिमा इमोशन दिन नसकेको उनको भनाई छ । नेपालको राजनीति नारायणगढ बुटवल खण्डको सडक जस्तै बनेको उनले टिप्पणी गरे ।अब पाइलै पिच्छे नेताहरुलाई गलत गर्ने छुट छैन । लोकतान्त्रिक व्यवस्थाअनुसार प्रविधिको सदुपयोग गरेर विकास र समृद्धिका लागि काम गर्नुपर्छ । युवाको माग अनुसारको परिवर्तन दिनु अहिलेको नेतृत्वको चुनौतिको विषय हो । नेपाल नारायणगढ बुटवल सडक खण्डको सडक जस्तै बनेको छ । अहिले सो खण्डमा बाटो छ तर, गाडी चल्न सक्ने अवस्था छैन’ उनले भने ।देशमा विश्वकै उत्कृष्ट संविधान कार्यान्वयन भएपनि सो अनुसार काम हुन नसकेको उनले बताए ।

