
उपरष्ट्रपति यादवले सगरमाथाको चुचुरोमा पुग्नु आफैँमा एउटा साहसिक कार्य भएको बताए । “तपाईंको यो ऐतिहासिक कार्यले अपाङ्गता भएका र विभिन्न कारणले अङ्गभङ्ग भएकालाई सधैँ उत्प्रेरित गरिरहने विश्वास मैले लिएको छु”, उनले भने । बुढामगरले कायम गरेको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति पनि अन्यसरह विश्व कीर्तिमान कायम गर्न सक्छन् भन्ने सकारात्मक सन्देश सञ्चार गरेको उनले बताए । उनले भने, “तपाईंको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति अरुको भर र दयामा मात्र बाँच्न सक्छन् भन्ने नकारात्मक सोचलाई परिवर्तन गर्न सहयोग पुग्ने विश्वास पनि मैले लिएको छु । गौरवशाली उपलब्धिपछि मुलुकभर खुशी साटासाट भई रहेकै बेला तपाईलाई हार्दिक बधाईसहित सम्मान गर्दा म गौरवको अनुभव गरिरहेको छु ।”
उपराष्ट्रपति यादवले पर्वतारोही बुढामगरको अद्भूत आत्मविश्वास, साहस र सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्रा निर्विध्न जारी रहोस् भन्दै प्रशंसा गरे । उनले पर्वतारोही बुढामगरको उज्जवल भविष्यको कामना गर्दै सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् । रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।