काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्राङ्गणमा बिहीबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । ‘महिलामा लगानी : प्रगतिलाई गति’ र ‘समावेशीकरणलाई प्रेरणा’ भन्ने नाराका साथ महिलाहरूको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।उक्त कार्यक्रममा नेपालकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् । कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइरालासँगै भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव पनि सहभागी थिए ।
२। कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्धिका लागि गरेको अथक प्रयासको प्रशंसा गरे । नियोग उप–प्रमुख श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै उनले यस क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताए । त्यस्तै अष्टलक्ष्मी शाक्यले भारत र नेपालबिच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तीकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन् ।
अनुराधा कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत् कार्यक्रम बारे जानकारी गराएकी थिइन् । उनले राजदूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेकी छन् कार्यक्रममा मेनुका पौडेल र रत्नकुमारी सुनुवारलाई उनीहरूको प्रेरणादायी उपलब्धिका लागि सम्मान गरिएको थियो । काठमाडौँकी पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल (२०२३) मा प्रशंसा बटुल्न सफल भएकी थिइन् ।

