काठमाडौँ — सरकार गठनको करिब दुई महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन् । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि १६ जेठमा नेपाल आउन लागेकी हुन् । १३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि काठमाडौं भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनेछिन् ।
यसअघि वैशाखमा छुट्टाछुट्टै नेपाल आएका अमेरिकी अधिकारीहरू समीर पल कपुर र सर्जियो गोरभन्दा पनि रोजर्स माथिल्लो तहकी अधिकारी हुन् । सरकार गठनयता लगातार उच्चस्तरीय अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण भइरहनुले कूटनीतिक वृत्तमा चासो बढाएको छ । परराष्ट्र मन्त्रालयले रोजर्सको भ्रमणबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सहयोग तथा सहजीकरण गर्न अनुरोध गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले काठमान्डु पोस्टलाई बताए ।
यसअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर ७ वैशाखमा काठमाडौं आएका थिए । तीनदिने भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए । छलफल मुख्यतः द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र नेपालको लगानी वातावरण सुधारमा केन्द्रित थियो ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार कपुरले आगामी ‘सेलेक्ट यूएसए इन्भेस्टमेन्ट समिट’ मा सहभागितालगायत व्यावसायिक सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए । उनले नेपाली प्रतिनिधिमण्डललाई अमेरिकी लगानीका अवसरहरू खोज्न आग्रह गरेका थिए । साथै, नेपालको उदीयमान प्रविधि क्षेत्र– डिजिटल पूर्वाधार, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षामा सहकार्य विस्तारबारे निजी क्षेत्रसँग पनि संवाद गरेका थिए ।कपुरको भ्रमण सकिएको एक सातापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोर पनि काठमाडौं आएका थिए । उनले परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गरेका थिए । ती भेटमा व्यापारिक सहकार्यमा सुधार, वैदेशिक लगानी आकर्षण, आर्थिक सम्बन्ध विस्तार तथा साझा समृद्धिका विषयमा छलफल भएको थियो ।
यद्यपि, दुवै अमेरिकी अधिकारीले प्रधानमन्त्री शाहसँग भेट गर्न पाएनन् । सार्वजनिक रूपमा उनीहरूले प्रधानमन्त्रीसँग भेटको आग्रह नगरेको बताइएको थियो । प्रधानमन्त्री शाहसँग भेटका लागि रोजर्सले समय मागेकी छन् वा छैनन् भन्ने तत्काल स्पष्ट भएको छैन । तर कूटनीतिक परम्पराअनुसार उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्ने तथा अन्य अधिकारीहरूसँग पनि छलफल गर्ने अपेक्षा गरिएको कूटनीतिक स्रोतको भनाइ छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका एक वरिष्ठ अधिकारीले सगरमाथा आरोहण गरी विश्वकै सर्वोच्च शिखर चढ्ने पहिलो कार्यरत अमेरिकी कूटनीतिज्ञ बन्ने कीर्तिमान बनाएको केही दिनमै रोजर्सको भ्रमण हुन लागेको हो । ‘कूटनीति र पर्वतारोहणको एउटा ऐतिहासिक उपलब्धि, अमेरिकी दूतावास नेपालका सार्वजनिक मामिला प्रमुख माइक हार्करले ६ जेठमा बिहान ९ बजेर १० मिनेट जाँदा सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्,’ अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यससँगै उनी विश्वकै सर्वोच्च शिखर आरोहण गर्ने पहिलो कार्यरत अमेरिकी फरेन सर्भिस अफिसर बनेका छन् ।’
दूतावासले यसलाई अमेरिकाको स्वतन्त्रताको २५० औं वार्षिकोत्सव ‘फ्रिडम २५०’ सँग जोड्दै अमेरिकी आत्मविश्वास, दृढता र अन्वेषण भावनाको प्रतीकका रूपमा व्याख्या गरेको छ । कूटनीतिक स्रोतका अनुसार हार्करको सफल आरोहणको सम्मानमा १७ जेठमा विशेष समारोह आयोजना हुँदै छ, जसमा रोजर्स प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । सोही अवसरमा अमेरिकी दूतावासले ‘नेपाल्स एसेन्ट समिट २०२६’ पनि आयोजना गरेको छ, जहाँ रोजर्सको सहभागिता रहनेछ ।दूतावासका अनुसार उक्त कार्यक्रममा पर्वतारोहण कम्पनी, आउटडोर ब्रान्ड, पर्यटन क्षेत्रका सरोकारवाला र उद्योग साझेदारहरूले सगरमाथाको भविष्य कसरी निर्माण गरिरहेका छन् भन्ने विषयमा छलफल हुनेछ ।

