परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताका लागि नेपाल उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै वर्तमान सरकार चिनियाँ लगानीकर्तालाई आवश्यक सुविधा दिन तयार रहेको बताए। चिनियाँ लगानीकर्ताहरूलाई नेपालको लगानी सम्मेलनमा सहभागिता जनाउँदै यथोचित लगानी गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देशमार्फत् पनि अपील गरिएको थियो।
भेटमा द्विपक्षीय सहयोग र आपसी सरोकारका विभिन्न विषयमा उच्चस्तरीय आदानप्रदान, आर्थिक सहयोग, कनेक्टिभिटी, जनस्तरको सम्पर्कलगायतका विषयमा छलफल भएको थियो। चिनियाँ सञ्चारमाध्यमहरूले जनाएअनुसार वाङ हु निङले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री दाहालबीच भएको भेटवार्ताका क्रममा भएका विषयवस्तुको स्मरण गरे। उनले भने, ‘दुवै पक्षले राजनीतिक समर्थनलाई बलियो बनाउनुपर्छ। बीआरआईको उच्च गुणस्तरीय संयुक्त निर्माणलाई बढावा दिनुपर्छ र जनता-जनताबीचको सम्बन्धलाई गहिरो बनाउनुपर्छ।’
चीनले नेपालका नेताहरूसँग हासिल गरेका महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, विकास र समृद्धिका लागि चीन-नेपाल मित्रताको रणनीतिक साझेदारीलाई प्रगाढ बनाउन इच्छुक रहेको पनि उनले बताए। जवाफमा श्रेष्ठले महासचिव सी चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको ठूलो उपलब्धिको प्रशंसा गर्दै नेपाल एक चीन सिद्धान्तमा दृढताका साथ लागिपरेको र चीनसँग विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई अझ सुदृढ गर्न तत्पर रहेको बताए।
उनले सोही दिन चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी)की उपमन्त्री सुन हाइयानसँग भेट गरेर आपसी सरोकारका विषयमा छलफल गरे भने सुनले आयोजना गरेको रात्रिभोजमा सरिक भए। उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार साँझ समकक्षी वाङ यीसँग भेटेपछि छोङछिङ, ल्हासा र सिचुवान प्रान्तको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। तर मंगलबारदेखि हाइनान प्रान्तमा सुरू भएको पोआउ एशिया मञ्च-२०२४ वार्षिक सम्मेलनमा भने उनको सहभागिता छैन। ४ दिनसम्म चल्ने मञ्चको नारा एसिया र विश्व: संयुक्त चुनौती र साझा कर्तव्य भन्ने रहेको छ। 
