
सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहेको स्पिड (८,२५,८० एमबिपिएस) सम्मको सेवा लिन पाउने भएका छन् । कार्यालयका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर सुमन आचार्यका अनुसार धनकुटा जिल्लाको हिले बजार, मूलघाट, छथरजोरपाटी गाउँपालिकाको सिन्धुवा बजार, साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत् इन्टरनेट सेवा विस्तार गरिएको छ । धनकुटाकै पाख्रिबास नगरपालिका र चौबिसे गाउँपालिकामा पनि चालु आर्थिक वर्षमा सेवा सञ्चालनमा आउने उनले जानकारी दिए ।
त्यस्तै सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा पनि इन्टरनेट विस्तार गरिएको छ । चैनपुर नगरपालिकामा यसै वर्षदेखि काम सुरु गरिनेछ । अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ, पाँचथरको फिदिम र झापाको विर्तामोडबाट पुनःइटहरीसम्म एक सय जिबिपिएस इन्टरनेट जडान भइसकेको छ । यसबाट कुनै एक स्थानको फाइबरमा क्षति भए तापनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले चार जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।