नेपालगञ्ज । नेपालगञ्जमा तातो हावा (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाइँदैछ । (लू) प्रतिकार्य योजना अन्तर्गत कुलिंग सेन्टर (शितल केन्द्र) तथा सचेतना प्रबद्धनार्थ एलइडी डिस्प्ले सञ्चालन र संकाटापन्न बस्तीमा घरदैलो (डुअर टु डुअर) कार्यक्रमको सञ्चालन, ब्यवस्थापन र दिगोपनाका लागि कार्यविधि बनाउन सुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका (लू) प्रतिकार्य योजना लागू गर्ने नेपालकै एक मात्र स्थानीय सरकार हो । सन् २०२१ देखि (लू) प्रतिकार्यका लागि काम भइरहेको छ ।नेपालगञ्जमा अहिले एउटा कुलिंग सेन्टर निर्माणको कार्य अगाडि बढाइएको छ । बागेश्वरी मन्दिरको पूर्वपट्टी चिल्ड्रेन पार्कमा कुुलिंग सेन्टर निर्माणको काम अगाडि बढेको हो । (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । अत्याधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा सर्वसाधारणलाई (लू) बाट जोगाउन चार वटा कुलिंग सेन्टर बनाउने लक्ष्य छ । बसपार्क, धम्बोझी र रामलिला मैदान क्षेत्रमा पनि कुलिंग सेन्टर बनाउने कार्ययोजना छ ।
नेपालगञ्जको सिकाई र अनुभवका आधारमा तराईका अत्याधिक गर्मी हुने अन्य सहरहरुमध्ये धनगढीमा पनि यो कार्यक्रम भर्खरै सुरु भएको छ । त्यस्तै भैरहवा र विराटनगरमा पनि (लू) प्रतिकार्य योजना कार्यान्वयनको चरणमा छन् । अमेरिकन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित ताता हावाको लहर (लु) जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत आज कार्यविधि लेखन कार्यशाला गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजनामा कार्यशाला गरिएको हो । कार्यशालामा कुलिंग सेन्टर, एलइडी डिस्प्ले र घरदैलो कार्यक्रम सञ्चालन, व्यवस्थापन र दिगोपनाका लागि समूह कार्य गरिएको नेपाल रेडक्रस सासाइटी बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले बताए ।
कार्यशालाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले (लू) लाई प्रकोपको रुपमा लिई त्यस विरुद्ध जुध्न (लू) प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । विष्टले (लू) लाई प्रकोपको रुपमा स्विकारी त्यसै अनुरुप बजेट विनियोजन गरिएको जानकारी दिँदै आगामी नीति तथा कार्यक्रम र बजेटमा यसको आकार बढाउँदै लैजाने बताउनुभयो । कार्यक्रममा रेडक्रस क्लाइमेट सेन्टरका अरबान एक्सपर्ट रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगञ्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि यो कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको बताए । बढ्दो तापमानका कारण जोखिम बढ्दै गएको भन्दै तराई बेल्टमा यसखाल अभियान जरुरी रहेको सरोकारवालाको भनाई छ । कार्यशालाको उद्देश्यमाथि नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्रनारायण अधिकारीले प्रकाश पारेका थिए ।

