शान्ति सुरक्षा माग गर्दै एमालेका नेताहरु प्रशासन पुगे
zeenepal
२०८० चैत्र ३०,
3
Shares
नेपालगन्ज : शान्ति सुरक्षा माग गर्दै एमालेका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जानकी गाउँपालिकामा चरणवद्ध रुपमा भएका चोरी तथा डकैतीका घटनापछि उत्पन्न असुरक्षालाई लिएर उनीहरु प्रशासनमा पुगेका हुन् । प्रशासन कार्यालयमा पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई एमाले नेताहरुले ज्ञापन पत्र बुझाए ।
ज्ञापन पत्र बुझाउनेमा एमाले नेता पदम धिताल, एमालेका युवा नेता किशोर थापा, जानकी गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भुमिसरा धिताल लगायत रहेका छन् । सर्वसाधारणको ज्यान जाने गरी भएको लुटपाट तथा डकैतीका घटनाले गाउँपालिकावासीमा डर, त्रास उत्पन्न भएको ज्ञापन पत्रमा उल्लेख छ ।
जानकी गाउँपालिका वडा नम्बर ३ मानपुर, वडा नम्बर ४ को साहदतपुर र ढुडुवार गाउँ, जानकी–६ को कपासी र सल्यानीटोलमा गरेर करिव आधा दर्जन लुटपाट तथा डकैतीका घटना भएका थिए । स्थानीयका अनुसार मानपुरमा भएको डकैतीमा १ जनाको मृत्यु भएको थियो । यस्तै अर्का एक जना अहिले पनि गम्भीर रहेको बताइएको छ ।