विमानस्थल भन्सार प्रमुखमा बराल, पोखरेल पुगे आन्तरिक राजस्व विभाग
zeenepal
२०८१ बैशाख २,
15
Shares
काठमाडौं । करिब २ महिनापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार प्रशासक पाएको छ । अर्थ मन्त्रालयले सहसचिव महेश बराललाई प्रमुख भन्सार प्रशासकका रुपमा खटाएको छ । बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका छन् ।अर्थ मन्त्रालयले यसअघि सरुवा गरेका सहसचिव सेवन्तक पोखरेल डेढ महिनाको आनाकानीपछि करिब ३ दिन विमानस्थल भन्सार कार्यालयमा हाजिर भएका थिए । लगत्तै उनी आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकका रुपमा सरुवा मिलाएर गएका छन् ।
पोखेरल हाजिर हुन नगाएपछि ६ फागुनदेखि निरन्तरजसो सम्वेदनशील मानिने भन्सार कार्यालय निमित्त प्रमुखकै भरमा चलिरहेको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले १९ माघमा जापान भ्रमणमा रहेका पोखरेललाई भन्सार विभागको उपमहानिर्देशकबाट विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सरुवा गर्ने निर्णय गरेका थिए ।
आफूसँग सल्लाह नगरिएको र भन्सार विभागको उपमहानिर्देशक पदबाट कार्यालयमा सरुवा गरेको भन्दै उनले विमानस्थलमा हाजिर नहुने अडानमा थिए । स्रोतका अनुसार पोखरेलले राजनीतिक दबाब बढाएपछि नवनियुक्तमन्त्री वर्षमान पुनले राम्रो सन्देश नजाने भन्दै केहीदिन विमानस्थलमा हाजिर भएर रोजेकै पद लिन पोखरेललाई भनेका थिए । विमानस्थलमा हाजिर हुनसाथ आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक पदका लागि सरुवाको पत्र बनाएर विमानस्थलबाट रमाना लिएका थिए ।