काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न पनि नहुने बताएका छन् । सोमवार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताएका हुन् । महामन्त्री थापाले ०८१ सालमा सरकार बनाउने खेलमा कांग्रेस लाग्नु नहुने बताए । उनले एक वर्ष नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र र अन्य नयाँ राजनीतिक दलहरूलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए । उनले सरकारमा नयाँ आएकाहरूले कांग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको बताए ।
महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए । उनले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताए ।उनले भने, ‘अहिले नयाँ आएका सरकारका साथीहरूले जताततै अब चमत्कार हुन्छ, अस्तिसम्म काँग्रेस भएकाले नभएको हो, अब कांग्रेस गयो, राम्रो हुन थाल्यो भन्ने छ ।
त्यो बेकारको कुरा हो । हामी हावादारी कुरा गरिरहेका छौँ नि । म नेता, प्रधानमन्त्री हुनासाथै, म आउनासाथै म जादुगर हो, मैले अब जादु गर्छु । अब म कतार, मलेसिया, सबैको स्टिकर टाँसेर नेपाल ल्याउँछु भनेर अर्को फेरि आयो । हामी देको देइ गर्न थाल्यौँ क्या । २०८१ साल एक वर्ष नेपाली कांग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस् । बालुवाटार आयो की आँखा चिम्म गरेर अघि गइहाल्यौँ । महाराजगञ्जतिर गइहाल्ने । हेर्दै नहेर्ने । सिंहदरबारतिर पनि हेर्दै नहेर्ने । एक वर्ष ०८१ माओवादी, एमाले साथीहरू मिलेर सरकार चलाउन दिनुस् । चलाउनुस् ।महामन्त्री थापाले नागरिकहरूको न्यायको लागि काँग्रेसले आवाज उठाउने बताए ।

