सल्यान — प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर संघीयता सबल बनाउन लागिएको बताएका छन् । सल्यानको दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीयतालाई सबल बनाउन संघ सरकारले साना योजना सिधै प्रदेश तथा स्थानीय सरकारलाई कार्यान्वयनका लागि हस्तान्तरण गर्ने बताएका हुन् प्रधानमन्त्री दाहालले भने, ‘योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेछ ।’
प्रधानमन्त्री दाहालले जाजरकोटलाई केन्द्रविन्दु बनाएर कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोट, रुकुम र सल्यानमा क्षति भएको घर पुनर्निर्माणका लागि सरकार गम्भीर रहेको बताए । पर्याप्त बजेट विनियोजन गर्न नसक्दा अझै पनि भूकम्पपीडितहरु त्रिपालमा बस्न बाध्य भएको उल्लेख गर्दै उनले आउँदा दिनमा समस्या समाधान गरिने बताए ।नयाँ आर्थिक वर्षको लागि शुक्रबारदेखि नै बजेट विनियोजनको लागि छलफल कार्यक्रम हुनेछ । छलफल कार्यक्रममार्फत क्षति भएका भवन पुनर्निर्माणका लागि विशेष ध्यान दिइनेछ । भौतिक संरचनामात्र नभई विद्युतीकरण, आधारभूत स्वास्थ्य, कृषि, पशुपालनमा संघीय सरकार गम्भीर हुनेछ,’ उनले भने । समानीकरण अनुदान घट्दै गएको भए पनि आउँदा दिनमा अनुदान घट्न नदिने उनले प्रतिबद्धता जनाएका थिए ।

