काठमाडौं १६ जेठ,।नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ जनाको ज्यान जानेगरी सोमबार भएको तारा एयरको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गर्न माग गरेका छन् ।
सोमबार पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको विमान मंगलबार मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सो विमान दुर्घटनाबाट तीन चालक दलका सदस्य र १९ जना यात्रुको निधन भएको छ ।
उक्त दुर्घटनाको खबरले आफू मर्माहत भएको बताएका प्रचण्डले निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनमासमवेदना प्रकट गरेका छन् । शोक वक्तव्य जारी गर्दै प्रचण्डले दुर्घटनाको अनुसन्धान गर्न समिति गठन गर्न माग गरेका हुन् ।
‘यसप्रकारका दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन पनि म सम्बन्धित सबैमा अपील गर्न चाहन्छु । यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन् ।