संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ : रमेश लेखक
zeenepal
२०८१ जेष्ठ १,
9
Shares
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय छानबिन समिति बनाउने प्रतिबद्धता जनाएको बताएको छ । मंगलवार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने बताएको जानकारी दिएका हुन् ।
उनले कांग्रेससँग प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेको र आफूले संसदीय छानबिन समिति बनाउन कोसिस गर्ने र समिति बनाउने काममा लाग्ने प्रतिबद्धता जनाएको बताए । उनले संसदीय समिति नबनेसम्म सरकारी काममा काँग्रेसले संसदमा प्रवेश गर्न नदिने स्पष्ट पारे ।उनले भने, ‘प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोसिस गर्दछु, भन्ने प्रतिबद्धता गर्नुभएको हो ।
समिति बनाउने काममा लाग्छु भन्ने प्रतिबद्धता गर्नुभएको हो । जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ ।’लेखकले नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र अघि बढाउने ठोस नीति लिन नसकेको जिकिर गरे ।