काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न विभिन्न ६ वटा प्राध्यापक संगठनहरूले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न माग गरेका हुन् ।
विश्वविद्यालयका प्राध्यापक सङ्घ सङ्गठनहरूले उपकुलपतिलाई बुझाइएको ज्ञापनपत्रमा विभिन्न १५ बुँदे मागहरू अघि सारेका छन् । उपकुलपति बरालकाे नियुक्तिपछि त्रिविमा नयाँ नियुक्ति तथा सरुवामा मनोमानी गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।
आफ्नो नियुक्ति पश्चात् नै वैचारिक सङ्घ/ सङ्गठन, विद्यार्थी, प्राध्यापक तथा कर्मचारीमाथि विभिन्न खालका धारणा राखेको भन्दै ती धारणा तथा गरिने व्यवहार नेपालको संविधानको धारा १७ को (घ) मा उल्लिखित सङ्घ सङ्गठन खोल्ने हक तथा त्रि. वि. ऐन, नियम र विनियम विपरीत रहेको उनीहरूले स्मरण गराएका छन् ।

