वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का जेनजी युवा तथा विद्यार्थीहरूले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा जिताउन एकजुट भएर लाग्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।
वीरगञ्जमा बुधबार साँझ आयोजित एक अनौपचारिक कार्यक्रममा क्षेत्र नम्बर–१ का विभिन्न वडाका युवा र विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले फागुन २१ गते हुने निर्वाचनमा एमाले उम्मेदवार यादवलाई दिलोज्यानका साथ समर्थन गर्ने निर्णय गर्दै सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा एमाले उम्मेदवार यादवसँगै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको समेत सहभागिता रहेको थियो। युवाहरूले यादवलाई जनताको दुःख–सुखमा सधैँ साथ दिने नेता भएको उल्लेख गर्दै विगतमा जनहितमा गरेका कार्यहरूको खुलेर प्रशंसा गरे। उनीहरूले चुनावका बेला मात्रै देखिने मौसमी नेता नभई यादव हरेक संकट र विपद्मा जनताको बीचमा रहने नेता भएकाले समर्थन जनाएको बताएका थिए।
छलफलमा सहभागी युवा किरण गुप्ताले आफ्नो गाउँमा भएको सडक निर्माण यादवकै पहलमा सम्भव भएको स्मरण गराउँदै उनलाई विकासमुखी नेता रूपमा चित्रण गरे। “हामीले हाम्रो मत र समर्थनमार्फत उहाँलाई पुनः पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य बनाउने प्रतिबद्धता गरेका छौँ,” उनले भने।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका उम्मेदवार यादवले आफू चुनावी मौसमी नेता नभई सधैँ जनताको सुख, दुःख र विपद्मा साथ दिने नेता भएको दाबी गरे। उनले खानेपानी अभाव, हैजा तथा कोरोना महामारीका बेला जनताको सेवामा निरन्तर सक्रिय रहेको स्मरण गराए।
यादवले युवाहरूको सशक्तीकरण, रोजगारी सिर्जना र शिक्षा क्षेत्रमा सुधार ल्याउन आफू निरन्तर लागिरहेको उल्लेख गर्दै भने, “मेरो उद्देश्य केवल निर्वाचन जित्नु मात्र होइन, पर्साको समग्र विकास र जनताको भलाइ सुनिश्चित गर्नु हो। युवा नै हाम्रो समाजको भविष्य हुन्, त्यसैले उनीहरूको आवाजलाई सधैँ प्राथमिकतामा राख्नेछु।”
कार्यक्रममा वीरगञ्ज–५ का वडाध्यक्ष प्रदीप चौरसिया, नेकपा एमालेका अग्रज नेताहरू तथा स्थानीय युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

