काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई प्रभावित पारेर जनता समाजवादी पार्टीमा सनाखत गर्न प्रलोभन दिइरहेको आरोप लगाएको छ ।जसपा नेपालबाट अलग भएर अशोक राई नेतृत्वको जसपा गठन भइसकेको छ । सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ । प्रदेश सभा तथा स्थानीय तहका प्रतिनिधिलाई जसपा नेपालमा रहने कि जसपामा जाने भनेर आयोगले सनाखतको समय दिएको छ ।
प्रदेश तथा जिल्लामा सनाखतको काम भइरहे पनि सुनसरी जिल्लाका निर्वाचन कार्यालयले आफ्नो पक्षमा प्रतिनिधिलाई फोन गरेर सनाखत गर्न दबाब दिएको जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादवले बताए ।उनले भने, ‘सुनसरी जिल्लाका निर्वाचन कार्यालयबाट एक जना महिला कर्मचारीले देवानगञ्जका गाउँपालिका अध्यक्ष बेचन मेहतालाई फोन गरेर सनाखतका लागि कार्यालय आउन दबाब दिएकी छन्, यो कानुन र विधि विधान विपरीत हो । निर्वाचन आयोगले यसरी जनप्रतिनिधिलाई प्रभावित पार्न मिल्दैन ।’

