काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरूबिच कम्तीमा पनि सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उनको निष्कर्ष थियो ।
सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिहरूले नेपालमा पनि शान्ति प्रक्रियालाई भड्काउने प्रयास गरिरहेको दाबी समेत गरे ।
मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरुले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको महासचिव गुरुङले दाबी गरे ।
उनले एउटा वा दुई वटा दलले मात्रै चाहेर मुलुकको शान्ति प्रक्रियाको कामले पूर्णता नपाउने बताए ।महासचिव गुरुङले दलहरूबिच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो पनि औँल्याए ।

