लुम्बिनीमा २,५६८ औं बुुद्धजयन्ती तीन दिनसम्म मनाइने
zeenepal
२०८१ जेष्ठ ८,
18
Shares
बुटवल । लुम्बिनी विकास कोषले २,५६८ औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवस तीनदिनसम्म विविध कार्यक्रम सहित मनाउने भएको छ ।कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुधबारदेखि शुक्रबारसम्म लगातार कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने जानकारी गराएको हो ।बुद्ध जयन्ती अन्तर्गत जेठ १० गते प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ,प्रदेशका मुख्यमन्त्री लगायतको आतिथ्यतामा मूल समारोह गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।९ गते साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने कोषले जनाएको छ ।
मूल समारोहका दिन जेठ १० गते विहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्रार्थना सभा, विहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।लुम्बिनीमा जेठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्नेगरी त्रिदेशिय मोटरसाईकलयात्रा समेत शुभारम्भ हुने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।
यो वर्ष संघीय सरकारबाट बुद्ध जयन्तीका लागि बजेटको सुनिश्चितता नहुँदा निकै कठिनाई भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए ।बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको लामाले बताए । बुद्ध जयन्ती मूल समारोहका प्रचार प्रसार व्यवस्थापन उपसमितिका संयोजक एवं कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बुद्धको जीवनीसंग सम्बन्धित लुम्बिनी सहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताए ।
बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्थिधातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्रामसम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरुले सहकार्य गरेको जनाइएको छ ।कोषले भगवान बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलबस्तुको कपिलवस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ज्वलन गर्न अपिल गरेको छ ।