काठमाडौँ । नेपालको काठमाडौँ किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली च्याम्पियन बनेको हो ।
तीन दिनसम्म सञ्चालन भएको यस प्रतियोगिताबाट नेपाली खेलाडीहरूले महत्त्वपूर्ण अनुभव लिने अवसर पाएको किकर्सका अध्यक्ष नवीन पाण्डेले बताए । ‘हाम्रो उद्देश्य नेपाली खेलाडीहरूलाई पनि जर्मनीको जस्तो विकसित फुटबल संस्कृतिको अनुभव गराऔँ, उनीहरूलाई पनि यो स्तरको फुटबल खेल्ने अवसर दिऔँ भन्ने हो,’ अध्यक्ष पाण्डे भन्छन्, ‘मलाई विश्वास छ की नेपाली खेलाडीहरूले जर्मनीको यो प्रतियोगिताबाट त्यो अवसर पाएका छन् । हाम्रो यो उद्देश्यलाई साथ दिने खेलाडीका अभिभावक र सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु ।’
मोम्मेन्डोर्फ फुटबल क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको यस प्रतियोगिताको यो ५५औं संस्करण हो । प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी ७६ टोली र २० क्लबका गरी १२ सयभन्दा बढी खेलाडीले भाग लिएका थिए ।
ADVERTISEMENT

