ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मर्यादित बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्ने बताएकी छन् ।अन्तर्राष्ट्रिय महिनावारी दिवसको सन्दर्भमा आयोजना गरिएको महिनावारी मैत्री विश्व कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । मर्यादित महिनावारी बनाउनका निम्ति महिला मन्त्रालयले निर्देशिका पनि बनाएको भन्दै उनले तर त्यसलाई यथोचित रूपमा राज्यका सबै निकाय, सबै क्षेत्रमा लागू भएको अवस्था नरहेको बताइन् ।
सामुदायिक विद्यालय, कलेजहरूमा यी कुराको विशेष ध्यान दिइनुपर्ने भन्दै उनले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई कुनै पाप वा गलत कुराको रूपमा लिने प्रवृत्तिको अन्त्य गर्नका निम्ति सचेतनाका कार्यक्रम बढाउनुपर्ने बताइन् ।
यो प्राकृतिक प्रक्रिया हो । यसलाई कसरी हुन्छ सुरक्षित र सरसफाइमा विशेष ख्याल गर्नुपर्छ’, मन्त्री चौधरीले भनिन्, ‘कतिपय ठाउँहरूमा छोरीहरूलाई महिनावारीको बेला घरबाहिर राख्ने प्रवृत्ति छ । घरपरिवारको मुख हेर्न नदिने, भान्सामा जान नदिने जस्ता कुराहरू छन् ।त्यसलाई हामीले जनचेतना फैलाउँदै यो कुरा गलत होइन यो प्राकृतिक प्रक्रिया हो घरभित्रै राख्नुपर्छ भन्ने ढङ्गले हामीले जनचेतना फैलाउन आवश्यक छ ।’कुरीतिहरूलाई चिर्नका लागि यस्ता अभियानहरूले गलत मान्यताहरूलाई परिवर्तन गर्न मद्दत पुग्ने भन्दै उहाँले नागरिक समाज जस्ता संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने उनले बताइन् ।

