काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखापरेका असरहरूलाई न्यूनीकरण गर्नका लागि हिमालको संरक्षण गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हिमालको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हिमाललाई सफा राख्नुपर्नेमा जोड दिए । उनले हिमालको सरसफाइ चुनौतीपूर्ण रहेको भन्दै नियमित रूपमा सरसफाइ गर्नका लागि स्थानीय सरकारलाई जिम्मेवारी दिनुपर्ने बताए । उनले हिमालका भएका हिमतालहरू फुटेर जनजीवन जोखिममा पर्ने खतरा रहेको भन्दै अहिले नै त्यसप्रति सरकारले योजना बनाएर काम गर्नुपर्ने बताए ।
राष्ट्रिय सभा सदस्य ईन्दिरादेवी गौतमले विश्वका अन्य हिमाल भएका देशहरूले कसरी हिमालको संरक्षण र सरसफाइ गरिरहेका छन् भनेर सिक्न सकिने धारणा राखिन् । उनले हिमालमा रहेका बस्तीमा संकट ननिम्तियोस् भन्नका लागि बेलैमा सचेत हुनुपर्ने भन्दै ठोस योजना बनाइ अहिलेदेखि नै लागू गर्नुपर्ने बताइन् ।राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले हिमाली क्षेत्रमा प्लास्टिक प्रयोगलाई वर्जित गर्नुपर्ने बताइन् । उनले प्लास्टिकको प्रयोग गर्नेलाई कडा कारबाही गर्ने नीति ल्याएर मात्रै नियन्त्रण गर्न सकिने बताइन् । उनले हिमाल संरक्षणका लागि आवश्यक उपायहरूको सम्बन्धमा छलफल गरेर सोही निष्कर्षका आधारमा अगाडि बढ्नुपर्ने पनि बताइन् ।

