२४ लाख खोप हराएकोबारे संसदमा जानकारी गराउन सरकारसँग माग
zeenepal
२०७९ जेष्ठ २९,
6
Shares
काठमाडौं २९ जेठ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औंषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै सांसद अधिकारीले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिए ।२४ लाख खोप कहाँ गयो ? हामीले उठाई राखेका छौं । समितिमा उठाएका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर भनिएको छ । त्यो २४ लाख खोप कम्पनीबाटै कमिशनमा हराएको हो ? सभामुख महोदय । त्यसको जवाफ चाहिँदैन ।
निःशुल्क औषधिको कुरा चल्यो ।’ उनले भने, ‘म स्वास्थ्यमन्त्री हुँदा नै ७२ वटा त नयाँ औषधि निःशुल्क बनाएको हो । १ सय ३९ वटा औषधि त त्यतिबेलै निःशुल्क गरिएको थियो एचआईभी एड्सदेखि क्यान्सरसम्मका । अनि अहिले यहाँ केके गरे भनेर भ्रमको खेती गरिदैछ । यसको जवाफ चाहिएन सभामुख महोदय । गत आर्थिक वर्षको भन्दा २२ प्रतिशत बढि बजेट कम गरिएको छ । त्यसप्रति मेरो आपत्ति छ ।’सांसद अधिकारीले गत वर्षको भन्दा स्वास्थ्य क्षेत्रमा सरकारले २२ प्रतिशत भन्दाबढि बजेट घटाएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।