काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुबान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्पर्क, समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिएकी छन् ।मनसुनजन्य घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगिन र समयमै जनचेतना प्रदान गर्न मातहतका निकायबाट भइरहेका आवश्यक पूर्वतयारीबारे जानकारी लिँदै उनले विपद्का समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिइन् ।
मन्त्री शर्माले भनिन्, 'मनसुनको पूर्वसूचना दिने, विपद्का घटनाको तत्काल सही सूचना प्रवाह गरी राहत र उद्धार कार्यमा सबैको सहयोग र समन्वय हुन आवश्यक छ ।' कल्पना नै नगरेको ठाउँमा बाढीपहिरो र डुबानका घटना भएका प्रशस्त उदाहरण रहेकाले राहत र उद्धारका लागि गर्नुपर्ने पूर्वतयारीको पाटोलाई विशेष ध्यान दिन सुझाव दिँदै मन्त्री शर्माले बर्सातका कारण अवरुद्ध हुनसक्ने सञ्चार सम्पर्कलाई नियमित तुल्याउनेतर्फ प्रभावकारी तयारी व्यवस्थापनको खाँचो औँल्याइन् ।
त्यस अवसरमा विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधि रतिन्द्र क्षत्रीले बाढीपहिरोका घटनाबाट मनसुनका बेला विद्युत् र सोलारकाकारण सञ्चार अवरुद्ध भई सूचना लिन हुनसक्ने चुनौतीको सामाना गर्न जेनेटरलगायत आवश्यक वस्तुको पर्याप्त मौजुदाको व्यवस्था गरिएको बताइन् । त्यस अवसरमा विपद्पछिका घटनामा मानवीय उद्धार र सेवा सुचारु पाटोमा विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताउँदै अन्य सहभागी वक्ताले यस वर्षको मनसुनमा अघिल्ला वर्षको तुलनामा भारी वर्षाको सम्भावना आँकलन गरिएकाले सोही अनुरुपको तयारी व्यवस्थापनको खाँचो औँल्याइन् ।

