काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउन सुरु गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुख र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् ।छलफलमा मन्त्री पुनले कार्यान्वयन हुन सक्ने गरी योजना बनाउन निर्देशन दिए । मन्त्री पुनले बजेटको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग मेल खाने खालको भएको भन्दै कार्यान्वयन समेत सहज हुने बताए ।
खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔं’, जति समयमै गर्न सकियो र खर्च बढाउन सकियो त्यति नै बजार चलायनमा हुने हो,’ उनले भने, ‘हामीले अहिले असारमा गरिरहेको खर्च ६ महिनाअघि गर्न पाएको भए २/३ पटक बजारमा ‘सर्कुलेट’ हुन्थ्यो । त्यसबाट राजस्व संकलन हुन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो । हामी परम्परागत नहोऔं, समयमै र छिटै काम गर्ने गरी योजना बनाऔं ।’
पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दशैं तिहारजस्ता ठूला पर्वको विदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन उनले निर्देशन दिए ।स्रोतले नधान्ने गरी २० खर्बको बजेट आउने बजार हल्लाबीच १८ खर्ब ६० अर्बको वस्तुवादी बजेट ल्याउन सकिएकोमा सन्तोष लागेको उनले बताए ।
मन्त्री पुनले नयाँ आयोजनामा भन्दा चालु र ठूला आयोजनालाई केन्द्रित गरेर बजेट ल्याएको बताए ।चालु आर्थिक वर्षको बजेटमा राजस्व संकलनको लक्ष्य बढी राखिएकाले लक्ष्यभन्दा धेरै कम राजस्व संकलन भएको बताए ।
‘म अघिल्ला अर्थमन्त्री वा अरू कसैलाई आरोपित गर्न चाहन्न । कार्यान्वयन हुनै नसक्ने ४२ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य निर्धारण हुनुमा अर्थमन्त्री वा हाम्रो प्रणाली कसको दोष हो । त्यसको पनि समीक्षा हुनुपर्ला,’ उनले भने ।पूर्वपश्चिम राजमार्ग बिस्तारका लागि ३२ अर्ब बजेट विनियोजन गरिएको चर्चा गर्दै उनले पूरा नगरी नहुने अरू चालु आयोजनाको निर्माण सक्ने गरी बजेट व्यवस्था गरिएको जनाए ।
ADVERTISEMENT