नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा आजदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । यो चालू आर्थिक वर्ष भन्दा करीब ९ करोड कम हो ।
कुल विनियोजित बजेटमध्ये चालू खर्च ६४ प्रतिशत र पूँजीगत खर्च ३६ प्रतिशत विनियोजन गरिएको सुवेदीले बताइन् । नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ९६ लाख, संघीय सशर्त अनुदान ३७ करोड २४ लाख, संघीय समपुरक अनुदान ५५ लाख, संघीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय १५ करोड ६३ लाख ६९ हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १९ लाख ४९ हजार, प्रदेश सशर्त अनुदान १ करोड ७७ लाख ६२ हजार, प्रदेश समपुरक अनुदानको १ करोड ५ लाख, प्रदेश विशेष अनुदान वापतको १० लाख, स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने अनुमानित १० करोड ५ लाख र नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व समेत गरी ११ करोड ६१ लख ७२ हजारलाई आधार बनाएर बजेट निर्माण गरिएको सुवेदीले बताइन् ।
नगर प्रमुख आचार्यले ‘समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘विद्यार्थी तथा अभिभावकसङ्ग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरी यस क्षेत्रका अग्रजहरुलाई विद्यार्थीहरुसँग भेट गराई स्थानीय पाठ्यक्रमका बिषयबस्तुको सहजीकरण गर्ने नीति लिने, विषयगत शिक्षकहरुलाई विद्यार्थीहरुको सिकाई उपलब्धिप्रति जिम्मेवार बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर स्तरीय कक्षा ८ को परीक्षामा कम्तिमा ५० जना वा सो भन्दा बढी विद्यार्थी सहभागी बनाई उच्च सिकाई उपलब्धि हासिल गराउने शिक्षक तथा विद्यालयलाई प्रोत्साहन उपलब्ध गराउने नीति कोहलपुर नगरपालिकाले लिएको छ । त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार, टिनको छाना विस्थापन, सफा स्वच्छ पिउनेपानीको व्यवस्था, मौसम अनुकुलताका लागि आवश्यक व्यवस्थापन गरिने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।
त्यसैगरी स्थानीय समुदायलाई करेसाबारी र कौसीखेतीमा प्रोत्साहन गरिनुका साथै नगरका बाँझो जमिन तथा खाली बगरको पहिचान गरी स्थान सुहाउँदो फलफुल र तरकारी खेतीका लागि प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालन गर्ने, कोहलपुर क्षेत्रमा उत्पादित तरकारीलाई बजारको पहुँच पु¥याई तरकारी आयातलाई प्रतिस्थापन गरी निर्यातका लागि प्रोत्साहन गर्ने, कोहलपुरका विभिन्न वडाहरुमा उत्पादन हुने बालीहरुको पहिचान गरी बाली विशेष पकेट क्षेत्र निर्धारणको अवस्था आंकलन गरी पकेट क्षेत्र निर्धारणका लागि आवश्यक पहल गर्ने, कृषि क्षेत्रमा मर्यादित एवं आकर्षणको पेशा बनाउनुका साथै कृषि कार्यमा लाग्ने श्रमशक्ति एवं लागत न्यूनीकरण गरी आधुनिक कृषि उपकरण तथा यान्त्रीकरण वितरणको कार्यलाई निरन्तरता दिने नीति कोहलपुर नगरपालिकाले लिएको छ ।
यसैगरी बैदेशिक रोजगारीको अवस्थालाई सुरक्षित मर्यादित तथा व्यवस्थित गराउने उद्देश्यले यस नगरपालिकामा सुरक्षित रोजगार सम्वन्धि आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना गरी सञ्चालन गर्ने, बेरोजगार युवाहरुलाई कृषि, पशुपालन लगायतका नवपर्वतनात्मक उद्यमशीलतालाई प्रोत्साहन गरी उत्पादनमा युवा संलग्नता र नेतृत्व अभिवृद्धि गर्न ‘उत्पादनमा युवा प्रोत्साहन’ गर्ने, स्थानीय औद्योगिक उत्पादनमा बृद्धिः रोजगारी सिर्जना र समृद्धिलाई साकार गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विकास, विस्तार र आधुनिकीकरण गरिनुका साथै उद्यमशीलताको प्रोत्साहन स्वरुप उद्यमी पुरस्कारको व्यवस्था गर्ने, खाद्यवस्तुको गुणस्तर मापदण्ड तर्जुमा गर्दै स्वस्थ वस्तु उपयोग सुनिश्चितताका लागि सम्वन्धित निकायको समन्वय र सहकार्यमा बजार अनुगमन सघन गर्दै लैजाने, राष्ट्रका लागि खेलकुदः स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारालाई आत्मसाथ गर्दै कोहलपुर क्षेत्रभित्रका तेह्र बिगाहामा प्याराफिट सहितको फुटबल रंगशाला निर्माण गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।
समग्र खेलकुद विकासका लागि नगरपालिकामा खेल प्रशिक्षकहरुको व्यवस्था गरी बिद्यालयहरुमा घुम्ती प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउने, खेलकुदमा स्थानीय जनशक्ति उत्पादन तथा विकास गर्न मुख्यमन्त्री कोहलपुर गोल्डकप फूटबल प्रतियोगिता र सुशील कोइराला राष्ट्रिय क्रिकेट प्रतियोगिता, स्थानीय र अन्य खेलकुद प्रतियोगिताहरुलाई निरन्तरता दिने र विभिन्न खेलकुद विधामा नगरस्तरीय टिम तयार गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् । आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउने, स्वास्थ्य बीमा कार्यक्रममा सबैको सहज पहुँच सुनिश्चित गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन नेपालगञ्ज मेडिकल कलेजको समन्वयमा कोहलपुर नगर अस्पतालबाटै स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालनमा ल्याउने, मानव स्वास्थ्यलाई मध्यनजर गर्दै महामारी तथा सरुवा रोग नियन्त्रण, बंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोग गर्ने नीति लिने, सिकलसेल एनिमिया लगायतका रोगलाई निःशुल्क र नियमित स्वास्थ्य परिक्षण गरी सेवा प्रदान गरिनुका साथै रोगीलाई पुनःस्थापनाका कार्यक्रम ल्याउने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।
बालबालिकाहरुका लागि बालविवाह न्यूनीकरण, बालबालिका माथि हुने यौनजन्य हिंसा न्यूनीकरण, बालश्रम र लागु पदार्थ दुब्र्यसनी न्यूनीकरण सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने, यस प्रकारका कार्यक्रम सञ्चालन गरी कोहलपुर नगरपालिकालाई बालमैत्री नगरपालिका रुपमा स्थापित गराउन पहल गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको वस्तुनिष्ठ वर्गीकरण गरी अपाङ्गता परिचयपत्रलाई समयमा नै उपलब्ध गराइने उल्लेख छ । अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । त्यसैगरी दलित तथा अति विपन्न एवं सीमान्तकृत जाति र समुदायको परम्परागत पेशा र व्यवसायको प्रबद्र्धन गर्ने, लक्षित समुदायको पेशा, सीप तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, कोहलपुर नगरपालिकाका सबै वडाका मुख्य बस्तीहरु पक्की सडकले जोड्ने र मुख्य राजमार्ग जोडिने मापदण्ड पुगेका सडकहरु प्राथमिकीकरण गरी स्तरोन्नति गर्ने, आगामी आर्थिक वर्षमा सडक विस्तार, सडक कालोपत्रे, पक्की नाली निर्माण उचित ढल निकास पक्की पुल निर्माण कार्यलाई प्रभावकारी र गुणस्तरिय बनाई द्रुततर पूर्वाधार विकासमा जोड दिने, मूख्य शहरी क्षेत्रमा ग्राहकको चाप र सुरक्षाको लागि आकाशे पुलहरु निर्माण गर्न पहल गर्ने, बजार क्षेत्रको उचित ढल निकास, विद्युत लाइन क्षमता विस्तार गरिनुका साथै प्रत्येक वडामा एउटा सामुदायिक भवन÷जेष्ठ नागरिक विश्रामस्थल निर्माण कार्यको थालनी गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।
सभामा सदस्यहरु इश्वरी विक, माधव रिजाल, कल्पना शर्मा, गोविन्द वाग्ले लगायतले बोल्नुभएको थियो ।