डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको बसेको १६औँ गाउँसभाले आर्थिक विधेयक, नीति तथा कार्यक्रम र रु. ५१ करोड २५ लाख १८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
संघीय सरकारको वित्तीय समानिकरण अनुदानतर्फ रु. ११ करोड ६४ लाख र संघीय सरकारको राजश्व बाँडफाँड रु. १० करोड ८४ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रु. ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाँडफाँड रु. ४४ लाख ८ हजार, आन्तरिक स्रोत रु. ३ करोड ५२ लाख, सशर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान संघ रु. २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट रु. १ करोड ७० लाख र सशर्त अनुदान पुँजीगत तर्फ रु. ६५ लाखको बजेट प्रस्तुत भएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद, वन तथा बातावरण, विकास निर्माण लगायतको विषयलाई समेटेर ती क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताए । सभामा विधेयक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८१ प्रस्तुत गरेका थिए । सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मत रुपमा पारित भएको छ ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले सञ्चालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो । आजको सभामा गणपूरक संख्या २७ जनाको उपस्थिति रहेको थियो ।