काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशनमा निर्वाचन नगराएरै नेतृत्व चुनिएकोप्रति तीव्र असन्तुष्टि सुरु भएको छ । समाजवादीका बारा क्षेत्र नंं. ४ बाट निर्वाचित सांसद एवं निवर्तमान केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन नगराएर टीका लगाएर नेता बनाउने प्रवृत्ति हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् । वडासदस्य पनि जित्न सक्ने हैसियत नभएकाले महाधिवेशनमा आफ्नो हैकम चलाउँदा क्रियाशील व्यक्तिहरुलाई पाखा लगाइयो', उनले भने ।
सांसद श्रेष्ठले आफूले निर्वाचनमा जाऔँ भन्दा सुनुवाइ नभएको बताउँदै समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा हाडीगाउँमा भन्दै व्यङ्ग्य कसे । समाजवादीको १६ असारदेखि काठमाडौँको प्रज्ञा भवनमा भएको महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो ।
तर, अन्य पदमा निर्वाचनको माग भएपनि अध्यक्ष मण्डलले महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय समिति गठन गरेर महाधिवेशन समापन गरेको छ । बाँकी पदाधिकारी र केन्द्रीय सदस्यपछि छान्ने गरी महाधिवेशन सकिएको हो ।
यसले नेतालाई टेस्ट गर्ने प्रणाली ध्वस्त भएको र टीका लगाइदिने प्रणाली विकास भएको भन्दै अधिकांश प्रतिनिधिहरू पनि रुष्ट बनेका छन् ।पूर्वमन्त्री समेत रहेका श्रेष्ठले रातोपाटीसँग भने, ‘प्रतिनिधिले नेतृत्व छान्ने अधिकार हनन भयो र नेतृत्वमा जान चाहने आकांक्षीले उम्मेदवारी दर्ता समेत गर्न पाएनन् । यो घोर अन्याय भयो ।’ यसअघि सांसद प्रेम आलेले पनि यस्तै असन्तुष्टि जनाएका थिए भने नेतृ रामकुमारी झाँक्री लगायतले पनि असन्तुष्टि जनाइसकेका छन् ।

