काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको पाँचौं पटकको लाइसेन्स परीक्षामा ३४ प्रतिशत परीक्षार्थी पास भएका छन् । ४ हजार ६२ जनाले लाइसेन्सको परीक्षा फारम भरेकामा ३ हजार ७८८ जनाले परीक्षा दिएका थिए । तीमध्ये १ हजार २८५ जना मात्र उत्तीर्ण भएका नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा. विकास अधिकारीले जानकारी दिए ।विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था भएकोमा गत वर्षदेखि काउन्सिलले लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो । काउन्सिलले लिएको यो पाँचौंपटकको परीक्षा हो ।
यसपटक इन्जिनियरिङ क्षेत्रका २३ वटा विधामा लाइसेन्स परीक्षा सञ्चालन गरिएको थियो । तीमध्ये वातावरण इन्जिनियरिङमा शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।त्यसपछि सबैभन्दा धेरै उत्तीर्ण हुनेमा आर्किटेक्ट इन्जिनियरिङ विधाका परीक्षार्थीहरु छन् । आर्किटेक्टका ८० प्रतिशत परीक्षार्थी लाइसेन्स परीक्षामा पास भएको काउन्सिलका उपाध्यक्ष डा. अधिकारीले जानकारी दिए ।
काठमाडौं विश्वविद्यालयको नतिजा उत्कृष्ट
विश्वविद्यालयअनुसार लाइसेन्स परीक्षाको नतिजा हेर्दा यसपटक पनि काठमाडौं विश्वविद्यालय केयु मा पढेकाहरु सबैभन्दा धेरै पास भएका छन् ।काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ विषय पढेका ३३२ जना लाइसेन्स परीक्षामा सहभागी भएकोमा ५०.९० प्रतिशत परीक्षार्थी पास भएका छन् ।
यसैगरी सुदूरपश्चिम विश्वविद्यालयका ८ जनामध्ये ५० प्रतिशत पास भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयका ५७१ जनामध्ये ३५.९०, त्रिभुवन विश्वविद्यालयका ६५५ जनामध्ये ३५.२७ र पोखरा विश्वविद्यालयका ९९३ जनामध्ये ३४.१४ प्रतिशत परीक्षार्थीले लाइसेन्स परीक्षा पास गरेका छन् ।
सबैभन्दा कम मध्यपश्चिम विश्वविद्यालयका २४.५ प्रतिशत परीक्षार्थी लाइसेन्स परीक्षामा पास भएका छन् ।विदेशका विश्वविद्यालयमा पढेका १ हजार १८० जना पनि लाइसेन्स परीक्षामा सहभागी थिए । अघिल्ला पटकको तुलनामा यसपटक विदेशमा पढेर आएकाहरुको नतिजा राम्रो देखिएको छ ।
नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा. अधिकारीका अनुसार विदेशमा पढेर आएकाहरुमध्ये विगतमा २० प्रतिशत हाराहारीले लाइसेन्स परीक्षा पास गर्ने गरेकोमा यसपटक २७.५४ प्रतिशत उत्तीर्ण भएका छन् ।