बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ ।केन्द्रमा कांग्रेस–एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निर्णय नभएको प्रदेशका नेताहरुले बताएका छन् ।
कांग्रेसकै एक प्रदेश सभा सदस्यले रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्यमन्त्री कांग्रेसले पाउन सक्ने उत्तिकै सम्भावना रहेको तर्क गरे ।
पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्ने लबिङ गर्न काठमाडौं पुगेर पार्टी सभापति देउवालगायत नेता भेटेका छन् ।यता एमाले संसदीय दलका सचेतक तुल्सीप्रसाद चौधरीले भने शीर्ष नेताबीच लुम्बिनीको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति नै कार्यान्वयन हुने बताए ।लुम्बिनीको नेतृत्व एमालेले पाए संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुनेछन् ।
यता अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले पनि कांग्रेस एमालेबीच नै पहिले कसले नेतृत्व गर्ने भन्ने विषय नटुंगिएको आफूले राजीनामा नदिएको बताएका छन् ।मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै आफूले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने निर्णय गर्ने मुख्यमन्त्री महराले बताए ।
ADVERTISEMENT

