काठमाडौँ — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरू विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए ।
उनले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताए । उनले संघीयताको मर्म र भवनाअनुसार कानूहरू बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए ।उनले भने, ‘खासगरी हामीले प्रथम संविधान सभा भन्नुस्, दोस्रो संविधान सभा यो खासगरी कांग्रेसकै नेतृत्वमा अहिलेको नयाँ संविधान जारी गरेका हौँ । तर संविधान जारी गर्दाखेरी यो संविधानको विशेषता के हो भन्दा एउटा प्रोसेस पूरा गरेर कुनै त्यो संविधानमा उल्लेखित जुन दफाहरू छन्, ति दफाहरू परिवर्तन गर्नको लागि विधि, प्रक्रिया पूरा गरेर त्यसलाई समयको माग, जनताले चाहेअनुसार हुन्छ ।'

