काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनै दल र स्वार्थले ओतप्रोत भएका नेतृत्वको स्वार्थ सिद्धिका लागि गर्ने भनिएको संविधान संशोधनको कुनै तुक नरहेको बताएका छन् । राप्रपा नेपाल निकट मानव अधिकार तथा कानुन विभागद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधान संशोधन गर्ने नै हो भने हिन्दु राष्ट्र र सङ्घीयता संशोधनको प्रमुख विषय बन्नुपर्ने जिकिर गरे ।देशलाई भ्रष्टाचारको दलदलमा फसाउन प्रेरित गर्ने प्रदेशसभा औचित्यहीन रहेको पुष्टि भैसकेको भन्दै थापाले प्रदेशको संरचना खारेज गरेर केन्द्रीय सरकार र सुदृढ स्थानीय तह नै नेपालको सन्दर्भमा पर्याप्त हुने धारणा राखेका थिए ।
भ्रष्टाचारलाई ढाकछोप गर्ने, सीमित राजनीतिक दल र नेतृत्वको स्वार्थ सिद्धीका लागि संविधान संशोधन गर्ने कुतसित नियत हो भने राप्रपा नेपाललाई किमार्थ स्वीकार्य नहुने चेतावनी समेत थापाले दिएका थिए । संविधानसभाबाट पारित भई संविधान लागू भएको ९ वर्ष बित्न लाग्दासमेत गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताका कारण संविधान नै त्रुटिपूर्ण रहेको जनताले महसुस गर्न थालिसकेको भन्दै अध्यक्ष थापाले यी विषयहरूलाई संविधान संशोधनको प्रमुख एजेन्डा बनाउनेतर्फ बहस चलाउन सम्बन्धित सबैमा आग्रह गरेका थिए ।

