काठमाडौं मंसिर, । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ ।
बिहीबार बजार परिसूचक नेप्से ११.५६ अंक (०.६० प्रतिशत) ले बढेर १९३३.५५ अंकमा बन्द भएको छ । बिहीबार निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि भएका छन् । निर्जीवन बीमा उपसूचक भने ०.०४ प्रतिशतको सामान्य गिरावट भएको छ । बजार परिसूचकमा सुधार भएपनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन । बिहीबार बजारमा कुल २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ ।
बिहीबार कारोबार भएकामध्ये घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सवार्धिक ६.८३ प्रतिशतले वृद्धि हुँदा आरएमडीसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.८९ तथा साना किसान लघुवित्तको सेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । यता किसान लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य २.०८ प्रतिशत तथा समता घरेलु लघुवित्तको सेयर मूल्य १.९७ प्रतिशतले गिरावट भएको छ ।
ADVERTISEMENT