काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभई वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताएका छन् । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाहरूमा संघदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेको मेहनतको प्रशंसा गर्दै ज्ञान सङ्ग्रह गरेर पुस्तकका रूपमा बाँडेकोमा लेखकलाई विशेष धन्यवाद दिए । ओलीले हाम्रो समाज विविधतायुक्त भएको भन्दै नेपाल सामाजिक, भौगोलिक, जैविकलगायतका विविधतायुक्त भएकाले बुद्धलाई विविध ढङ्गले चिन्ने गरेको उल्लेख गरे ।
त्यसक्रममा बुद्ध दर्शनलाई जटिल बनाउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले अन्धविश्वासमा नभई वैज्ञानिक दर्शनमा आधारित भएको बताए ।पुस्तकका लेखक एवं बौद्ध विद्वान डाक्टर शाक्यले आफ्नो पुस्तकबारे चर्चा गर्दै बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौँ ? किन मर्छौ ? मानिस के–हो ? जस्ता यावत प्रश्नहरू बौद्ध दर्शनका पाठकहरूसमक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको उल्लेख गरे ।कार्यक्रममा १ सय जना भिक्षुहरूलाई अष्टपरिष्कार दान प्रदान गरिएको थियो । त्यसैगरी ५५ जना अनगारिका गुरुमाहरुलाई वस्त्र तथा अन्य बस्तुदान गरिएको थियो ।

