ललितपुर — जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन निर्माण अभियान भदौ ९ देखि सुरु हुने भएको छ । जनकपुर महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकले भदौदेखि चार महिनासम्म देशव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।बुधबार सम्पन्न बैठकले चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने र अभियानकै क्रममा पाँच लाख क्रियाशील सदस्य थप गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष उपेन्द्र यादवले आगामी २०८४ लाई लक्षित गरी संगठन निर्माणमा होमिन निर्देशन दिएका छन् ।
आगामी निर्वाचनमा जसपा नेपाललाई बलियो शक्तिको रुपमा स्थापित गर्ने गरी ग्रास रुटका जनतामाझ गएर पार्टीको संगठन विस्तार गर्न अध्यक्ष यादवले नेता कार्यकर्तामाझ आह्वान गरेका छन् । बैठकले अध्यक्ष यादवले प्रस्तावकारुपमा पेस गरेको राजनीतिक, सांगठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको छ ।बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानको लागि केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत गरेको जसपाले जनाएको छ ।