काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका छन् ।प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै अध्यक्ष नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका हुन् । उनले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्याउने दाबी गरे ।प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ ।
अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ ख्याल गर्नुस्, दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्याउँछ । कोही सहनेवाला छैनन् ।बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । बहुदलीय व्यवस्था यहाँ रहन्छ । बहुदलीय लोकतन्त्र गणतन्त्रलाई, संघीय लोकतन्त्रलाई हामी अझै समृद्ध बनाउन चाहन्छौँ’ उनले भने ।उनले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने उनको भनाइ छ । उनले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे । 'बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ ।
कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । टिक्न सक्दैन । प्रतिगमनको अधिनायकवादको, दुई दलीय शासनको, दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन,उनले भने ।अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यसको चर्चा समेत गर्नुभयो । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन आग्रह गरे ।

