काठमाडौँ । सांसदहरूले हिंसा पीडित महिलाहरूलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग माग गरेका छन् ।शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले)की सांसद थममाया थापा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद कल्पना मियाँ कुसारीलगायतका सांसदहरूले सो माग गरेका हुन् ।
सरकारको नेतृत्व गरिरहेका एमालेकी सांसद एवं पूर्वमन्त्री थापाले केन्द्र र प्रदेशमा मन्त्रीस्तरको र स्थानीय तहमा पालिका प्रमुखको नेतृत्वको तत्काल संरचना बनाई महिला हिंसालगायतका जघन्य अपराधका घटना रोक्नका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिइन् । उनले महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउनका लागि आवश्यक पर्ने भएकाले पनि महिलाहरूको अधिकार सुनिश्चित गर्न सरकारले बलियो संरचना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
सांसद थापाले भनिन्, ‘स्थानीय तहले जसरी महिलाहरूलाई त्यहाँ महिला हिंसा हँदाखेरी आर्थिक सामाजिक रूपमा उनीहरूलाई सशक्तीकरण गर्नका लागि जसरी योजनाबद्ध ढंगले काम गर्ने, सम्बोधन गर्ने काम गर्नुपर्दथ्यो । त्यो काम गर्न सकिराखेका छैन । त्यसकारण उहाँहरूले लामो समय त्यो क्षेत्रमा काम पनि गरिराख्नुभएको थियो । महिलामाथि हुने हिंसालाई रोक्नका लागि छुटै शाखा केन्द्रदेखि स्थानीय तहसम्मका बनाउनु पर्छ भन्ने मेरो माग छ । केन्द्रमा मन्त्रीको नेतृत्वमा बनाउने, प्रदेशमा पनि मन्त्रीस्तरको र स्थानीय तहमा पालिकाका प्रमुख वा उपप्रमुखको नेतृत्वको छुट्टै संरचना बनाउनुपर्छ ।’

