
उनले कर्मचारीले सेवाको भावले काम गर्नुपर्ने र देश विकास गर्ने हो भने २४ सै घण्टा कर्मचारीले डिउटी गर्नुपर्नेमा जोड दिए । उनले नेपाल पुलिसले २४ सै घण्टा ड्युटी गर्ने भन्दै निजामती कर्मचारीले त्यसो गर्न सक्दैन भन्दै प्रश्न गरे । उनले सङ्घीय निजामती सेवा सम्बन्धी ऐन बनाउँदा निजामती कर्मचारीले २४ सैं घण्टा डिउटी गर्ने प्रावधान राख्नुपर्नेमा जोड दिए ।
उनले कर्मचारीलाई बिदा दिने व्यवस्थामाथि कटाक्ष गर्दै भने– ‘कुनै प्रदेशले कसरी बिदा दिन्छ, त्यसको ठेगान नै छैन । कुनै प्रदेशले ७ दिन बिदा दिन्छ, मैले सुन्दै छु, एउटा प्रदेशले ल्याइरहेको छ, ७ दिन हनिमुन बिदा । अब यो देश विकास हुन्छ ? हनिमुन बिदा दिने हो ? कुनै कर्मचारीलाई अध्ययनका लागि ३ वर्ष बिदा रे । भर्खर अधिकृत भएर आएको छ मास्टर्स गर्न ३ वर्ष बिदा लिएर गायब भयो अब उसको ठाउँमा कसले काम गर्ने ? यसरी देश विकास हुन्छ ?’
यस्तो मोडलमा जाँदा देश विकास हुन नसक्ने बताए । जति गल्ती गरे पनि कुनै कर्मचारीलाई मन्त्रीले निकाल्न नसक्ने बरु खरदारले मन्त्रीलाई थर्काउने अवस्था रहेको उल्लेख गरे । उनले जय नेपाल, लाल सलाम, जय नेपाल भन्ने ट्रेड युनियन खारेज गर्नुपर्नेमा जोड दिए ।