काठमाडौं । सत्ता फेर्न गत १७ असारमा नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सातबुँदे सहमतिकै वरिपरि रहेर माओवादी केन्द्र प्रतिपक्षी कार्यक्रम तयार पार्न जुटेको छ ।पदाधिकारी र स्थायी समिति बैठक सकेर प्रदेश तहको छलफल गरिरहेको माओवादीले असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्दैछ ।
केन्द्रीय समिति बैठकबाट प्रतिपक्षी कार्यक्रम सार्वजनिक गर्ने माओवादीको तयारी छ । त्यसैले अहिले चलिरहेको बैठकलाई उसले परामर्श बैठक भनेको छ माओवादीले जस्तै एकीकृत समाजवादीले पनि ९–११ भदौमा बस्ने केन्द्रीय समिति बोलाएको छ । यो बैठकपछि नेताहरुलाई कार्य क्षेत्र निर्धारण गरी पार्टी कार्यक्रममा परिचालन गर्ने तयारी छ ।यी दुई पार्टीबीच एकताकै प्रयत्न भइरहेकाले राजनीतिक कार्यक्रम पनि धेरै हदसम्म मिल्दो छ । संविधान संशोधनमार्फत् जनताका अधिकार खोस्ने गरी कांग्रेस र एमालेबीच सत्ता सहकार्य सुरु भएको दुवै दलका नेताहरुले बताइरहेका छन् ।