काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयले आइतबार आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उनले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताए । त्यस्तै उनले विकास निर्माणको काममा ढिलाइ हुने अव्यवहारिक कानुनी व्यवस्था हटाउनुपर्नेमा पनि जोड दिए ।
‘जलवायु परिवर्तनको कारण वातावरणमा ठुलो प्रभाव पारेको छ, यसलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ,‘ देशको विकास निर्माणका क्रममा वातावरण मुल्यांकनले ढिलासुस्ती भयो भने हामीले धेरै मूल्य चुकाउनुपर्ने हुन्छ । विकास निर्माणमा भइरहेको ढिलाइ कसरी समाधान गर्ने त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ ।’उपप्रधानमन्त्री सिंहले वातावरणीय अध्ययन मूल्याङ्कमा हुने ढिलासुस्तीले आयोजना महँगो हुँदै गएको भन्दै जनशक्ति थप गरेर भएपनि काम समयमै सक्नुपर्ने बताए ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले लक्ष्य प्राप्तिका लागि हुने वन र जग्गाप्राप्तीको समस्यालाई सम्बोधनमा लाग्नुपर्ने आवश्यक रहेको बताए ।

