नेपालगन्ज भदौ : सङ्घीय सरकारको लगानीमा बन्न लागेको परसपुर–गौघाट सडकखण्डको कालोपत्रे निर्धारित समयमा नबन्दा सर्वसाधरणले कष्ट भोग्नु परेकोछ ।नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । सडक निर्माणको २९ महिना सकिनै लाग्दा २० प्रतिशतमात्रै कार्यसम्पादन भएको हो । उक्त सम्झौता आगामी भदौ २५ गते सकिदैछ ।
करिब १४ करोडमा कन्काई–गणपति जेभीले सडक निर्माणको ठेक्का पाए पनि निर्माण कार्यमा भने सुरुआतदेखि नै ढिलाइ हुँदै आएको थियो । ठेकेदारको लापरबाहीका कारण परसपुर–गौघाट सडकको कालोपत्रे नहुँदा सो क्षेत्रका स्थानीयले दुःख पाइरहेका छन् । बाँकेको पश्चिम क्षेत्रमा पर्ने उक्त सडक खण्डले सीमावर्ती क्षेत्रका बाँके र बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने काम गर्छ । नेपालगन्ज उप–महानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने सडक हो परसपुर–गौघाट सडक खण्ड ।
सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ ।यसअघि गत माघ महिनामा सम्झौता अनुसार सन्तोष जनक काम नगरेको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई–गणपति जेभी सहित ९ वटा कम्पनीलाई सातदिन भित्र कार्य सम्पादन सन्तोष जनक नभएको बारेमा लिखित प्रतिवेदन सहित कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारी भदौ २५ गतेसम्म निर्माण कार्य सम्पन्न हुन नसक्ने प्रतिक्रिया दिएका छन् । उनले अहिले वर्षातको समय भएकोले पिच गर्न नसकिने भन्दै केही समय माग गर्ने तयारी भएको बताए ।
उनका अनुसार सम्झौता अनुसार भदौ २५ गतेसम्म काम सम्पन्न गर्न कठिन छ । करिब ८ महिना अझै समय लाग्ने भएकाले सरकारसँग समय माग गरिनेछ ।परसपुर–गौघाट सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै यसअघि स्थानीयले आन्दोलन समेत गरेका थिए । २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो । तर, हाल सम्म पनि उक्त सडकको स्तर वृद्धि हुन सकेको छैन । जसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ ।
यता सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ । सडकको केही भागमा नालाको काम र माटो पटानमात्रै भएकोछ । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको इन्जिनियर सुवेदीले बताए ।
ADVERTISEMENT