काठमाडौं। राष्ट्रिय सभाको दुईवटा विषयगत समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले सूचना निकालेर निर्वाचनबारे तालिका सार्वजनिक गरेका हुन् ।तालिकाअनुसार यही भदौ ३१ गते विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचन हुनेछ ।
विधायन व्यवस्थापन समितिको सभापतिमा जयन्तीदेवी राई थिइन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा थिए ।नेताहरूका अनुसार विधायन व्यवस्थापन समितिको सभापतिको नेतृत्व अब एकीकृत समाजवादीले पाउने छैन। ‘उक्त समितिमा सत्तापक्षको प्रष्ट बहुमत छ । अहले ठूला दलहरू सरकारमा भएको बेला सानो दलले उक्त समितिको सभापति पाउने सम्भावना छैन ।१५ सदस्यीय विधायन समितिमा कांग्रेसबाट समितिको नेतृत्व हुन सक्ने नेताहरू बताउँछन् ।१२ सदस्यीय सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने सत्तापक्ष र प्रतिपक्ष बराबर ६÷६ जना छन् ।
‘राष्ट्रिय सभाको ठूलो दल पनि हो र सत्तापक्ष र प्रतिपक्ष पनि बराबर रहेको अवस्था छ’ एमालेका एक सांसद भन्छन्, ‘हाम्रो अवस्था र सम्भावनाको विषय प्रधानमन्त्रीलाई जानकारी गराएका छौं । के गर्ने ठोस निर्णय आएको छैन ।’सके सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति लिने र आफैँ राख्ने एमालेको प्रयास छ । नसके माओवादीलाई नै दिएर सर्वसम्मत सभापति बनाइने उनले बताए ।निर्वाच्न तालिका अनुसार समितिको सभापतिमा भदौ ३० गते उम्मेदवारी दर्ता हुनेछ । ३१ गते समितिकै सभाकक्षमा निर्वाचन हुनेछ ।
ADVERTISEMENT