काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले दुई दिनसम्म देशभरका पसलमा सामसङ फोनको डिस्प्ले नगर्ने निर्णय गरेको छ । व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको भन्दै नेपाल मोबाइल व्यवसायी महासंघले आन्दोलन घोषणा गरेको हो ।
धनगढीमा भदौ २० गते सामसङ नेपालले सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका मोबाइल व्यवसायीका लागि आयोजना गरेको ‘रिटेल मिट कार्यक्रम’ मा व्यवसायीहरूले मार्जिनको विषय उठाएका थिए । त्यसपछि कार्यक्रम नै बिथोलिन पुगेको थियो ।
महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए । उनका अनुसार अबको दुई दिन देशभर सामसङ ब्राण्डका मोबाइल डिस्प्ले पसलबाट हटाउने र दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाए थप दुई दिन कम्पनीका व्यवसायिक प्रतिनिधिलाई फिर्ता पठाउने निर्णय भएको छ ।
धनगढीमा आयोजित रिटेल मिटमा व्यवसायीहरूले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए । तर सामसङ नेपालका प्रतिनिधिहरूले भने यो विषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै पन्छिएका थिए ।
ADVERTISEMENT