अमेरिका । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् । संलग्न राष्ट्रहरूको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । उनले नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरिन् ।
गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरू पनि कैयौँ मानिस मारिएका थिए ।नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा राणाले सो बैठकमा बताइन् । सम्बोधनका क्रममा मन्त्री डा राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औँल्याइन् । विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरू भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । उनले भनिन्“मलाई लाग्छ दोस्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरूको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ ।”

