काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति ध्यानाकर्षण भएको जनाएको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा कसैले पनि घृणायुक्त अभिव्यक्ति नदिन तथा कानुनको सम्मान गर्दै निष्पक्ष अनुसन्धान प्रक्रियामा सहयोग गर्नसमेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।
फौजदारी कसुरमा छानबिन तथा अनुसन्धान गर्ने सन्दर्भमा राज्यकोतर्फबाट हुनसक्ने पूर्वाग्रहपूर्ण व्यवहार र आरोपीकोतर्फबाट प्रचलित कानुनी विधि र प्रक्रियाविपरीत व्यक्त हुने घृणायुक्त अभिव्यक्तिबाट यस प्रकारको अवस्था नआओस् भन्नेतर्फ सबै सचेत रहन आवश्यक भएको आयोगले जनाएको छ ।
फौजदारी मुद्दामा निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनसकेमा मात्र देशमा मानव अधिकार र कानुनी शासनको स्थापना हुन्छ भन्ने कुरामा विवाद हुन नसक्ने आयोगको भनाइ छ ।आपराधिक घटनाको अनुसन्धानलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि नगर्न नगराउन, नियन्त्रणमा लिएका अभियुक्तको स्वास्थ्योपचारमा विना भेदभाव चिकित्सकीय जिम्मेवारी र कर्तव्य निर्वाह गर्न, आपराधिक घटनाको सुक्ष्म र वैज्ञानिक अनुसन्धानमा जोड दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

